भारतीय प्रधानमन्त्रीको भ्रमण मिति तय, नाकाबन्दीको तिक्तता मेटिएला ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि वैशाख २८ गते औपचारिक भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरि सकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ देखि २५ सम्म भएको राजकीय भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदी लाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यस निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री मोदी यहि वैशाख २८ गते देखि २ दिने नेपाल भ्रमण गर्न लागेका हुन् ।
नेपालका प्रधानमन्त्री ओलीको राजकीय भ्रमणमा जाँदा भारतको नयाँ दिल्लि स्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमान स्थलमा भारतका गृह मन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । यहाँ भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री वा अरुले गर्छन ? त्यो भने हेर्न बाँकी नै छ ।
‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्ताव अनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ । परराष्ट्र मन्त्रालयले भने यसको औपचारिक घोषणा गरिसकेको छैन । भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको जनाएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने भएका छन् । त्यहाँ उनलाई विशेष अभिनन्दन गरिने कार्यक्रम रहेकोछ ।
प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै नेपाल भ्रमण आएका प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा भाग लिने क्रममा दोस्रो पटक नेपाल आएका थिए । यस भ्रमणबाट नेपाल–भारत सम्बन्ध, असमझदारी र नाकाबन्दीको वेला उत्पन्न तिक्तता मेट्ने प्रयास हुने अनुमान गर्न सकिन्छ । तर, यस विषयले प्रवेश गर्ला या नगर्न त्यो भने समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्