लाभांश प्रस्ताव गर्दै छिमेक लघुवित्त, डाक्यो साधारण सभा
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्