नेप्से परिसूचकमा निरन्तर वृद्धिपछि बिहीबार सामान्य करेक्सन

काठमाडौं ५, पौष । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो ।
अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेको छ । सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन देखिएको हो।

बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेप्से घटेपनि १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् त्यसैगरी, यस दिन अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घट्ने स्टकहरुको सूचीको शीर्ष स्थानमा सूर्या ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब साढे ७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्