नेपाल सुपर लिगमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो

काठमाडौं, २७ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा एफसी झापाले पहिलो जित निकालेको छ । मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो हो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो ।
झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो । पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो । दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्