दुर्लभ पाटे बाघ मर्‍यो, दुई महिनामा चार बाघ मरे

काठमाडौं । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

बाघ गए राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौं, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भने ।

हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्