तपाईले औषधिबारे जान्नैपर्ने केही विषयहरु यस्ता छन् !

डा.सुनील श्रेष्ठ

आफूले प्रयोग गर्ने औषधिबारे डाक्टर तथा फर्मासिस्टसँग कुरा गर्न आवश्यक हुन्छ । स्वास्थ्य हेरविचार गर्ने टोलीसँग कुरा गरेमा आफ्नो लागि उत्तम औषधि छनोट गर्न सक्षम भइन्छ । सबै मानिसले औषधिबारे यस्ता जानकारी राख्न जरुरी हुन्छ, जसले प्रभावकारी रूपमा आफ्नो स्वास्थ्यअनुकूल औषधि प्रयोग गर्न सहयोग पुग्छ :

१.  सक्रिय संघटक

सक्रिय संघटकले औषधिमा भएको रसायनलाई पहिचान गर्दछ । धेरै औषधिमा निर्माताले दिएको ब्रान्ड नाम पनि हुन्छ । कहिलेकाहीँ एकै प्रकारको औषधि पनि भिन्न–भिन्न बनावट, रङ, स्वाद र प्याकेजिङमा उपलब्ध हुन सक्छन् । त्यसैले फर्मासिस्टले एकै सक्रिय संघटकका साथ औषधिको एक वैकल्पिक ब्रान्ड पनि प्रदान गर्दछ । यदि औषधिको नयाँ ब्रान्डबारे तपाईंमा चिन्ता छ भने फर्मासिस्टसँग कुरा गर्नुपर्छ ।

२. औषधि सेवन कसरी गर्ने ?

निश्चिन्त भएर डाक्टर, फर्मासिस्ट वा नर्सको निर्देशनबमोजिम औषधि सेवन गर्नुपर्छ । कुनै औषधि प्रत्येक दिन एउटै समयमा लिन आवश्यक हुन्छ । कतिपय औषधि आवश्यकताअनुसार लिनुपर्ने हुन्छ । औषधि कसरी र कुन मात्रामा लिने भन्नेबारे लिफेल्टमा प्रिन्ट गरिएको हुन्छ ।

३. औषधिले के गर्छ ?

सबै औषधिको प्रयोगले शरीरमा कुनै न कुनै प्रभाव पार्छ । कुनै औषधिको बलियो र कुनैको फितलो प्रभाव हुन्छ । कतिपयको प्रभाव उल्लेखनीय नहुन पनि सक्छ । सामान्यतया विशिष्ट प्रभावका लागि, रोग कम गर्न तथा रोकथामका लागि औषधि लिइन्छ ।

कहिलेकाहीँ अनावश्यक नकारात्मक असर पनि उत्पन्न हुन्छ । त्यतिवेला औषधिको सम्भावितसाइड इफेक्टको खतराविरुद्ध सचेत हुन आवश्यक हुन्छ । उसो त डाक्टर र फर्मासिस्टले पनि औषधिको उपयोगिता, सम्भावित प्रभावहरूबारे जानकारी दिन्छन् । यदि दिएनन् भने पनि यसबारे छलफल गर्न आवश्यक हुन्छ । र, आफूले लिइरहेको औषधिबारे विश्वस्त हुन जरुरी हुन्छ ।

नकारात्मक असर

औषधिको सेवनपछि उत्पन्न भएका खराब असरलाई औषधिको नकारात्मक असर अर्थात् साइड इफेक्ट भनिन्छ । यसमा औषधिको साधारण प्रतिअसरदेखि जटिल विषाक्त असरसम्म हुन्छन् ।

उपचारमा प्रयोग गरिने सम्पूर्ण औषधिको नकारात्मक असर गर्ने सम्भावना हुन्छ । कुनै–कुनै अवस्थामा औषधिले बिरामीलाई पार्ने सकारात्मक र नकारात्मक असरमध्ये कुन प्रबल हुन्छ भन्ने तुलना गरी औषधि चलाउने वा नचलाउने भन्नेबारे निर्णय गरिन्छ ।

नकारात्मक असरभन्दा सकारात्मक असर प्रबल भएको अवस्थामा र नकारात्मक असरलाई व्यवस्थापन गर्न सकिने अवस्थामा मात्र औषधि प्रयोग गर्नुपर्छ । यदि स्वास्थ्यमा नकारात्मक असर परेको अवस्थामा डाक्टरसँग तत्काल छलफल गर्न आवश्यक हुन्छ ।

कतिपय औषधिले केही खाना वा पेयपदार्थसँग रियाक्सन गर्न सक्छ । यस्तोबारे पनि डाक्टरसँग राम्रोसँग परामर्श गर्न आवश्यक हुन्छ । कतिपयले अल्कोहलसँग सीधा प्रतिक्रिया जनाउँछ ।

गर्भावस्थामा

केही औषधि गर्भावस्था तथा स्तनपान गराउने महिलाका लागि सुरक्षित मानिन्छन् । तर, केही औषधि भने यस्तो अवस्थामा प्रयोग गर्नुहुँदैन । त्यसैले यस्तो अवस्थाका महिलाले लिने औषधिबारे चिकित्सकसँग राम्रोसँग अन्तरक्रिया गर्न आवश्यक हुन्छ ।

बालबालिकाका लागि

वयस्कभन्दा बालबालिकाका लागि तयार पारिएका औषधि फरक हुन्छन् । कुनै–कुनै औषधि शिशु या बच्चाका लागि उपयुक्त मानिँदैन । त्यसैले चिकित्सक वा फर्मासिस्टसँग शिशुका लागि उपयुक्त औषधिबारे छलफल गर्नुपर्ने हुन्छ ।

भण्डारण

औषधि निर्माताको निर्देशनअनुसार औषधि भण्डार गर्नुपर्छ । समान्यतया यस्तो जानकारी प्याकेजिङ वा लिफेल्टमा प्रिन्ट गरिएको हुन्छ । धेरै चिसो, सुक्खा, प्रत्यक्ष घामभन्दा बाहिर औषधि भण्डार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्