मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको मूल्य समायोजन गरेन
काठमाडौं ६ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनकानी गरेको छ । इन्डियन आयल कर्पोरेशनले निगमलाई हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीको आधारमा नेपालमा पनि इन्धनको मूल्यमा समायोजन गर्ने गरिएको थियो ।
तर, यो पटक मंसिर १ गते अर्थात् नोभेम्बर १५ तारिखमा नै नयाँ मूल्यसूची पठाएपनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । यो पटक आईओसी निगमलाई पेट्रोलमा प्रतिलिटर ८० पैसा र डिजलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटाएर पठाएको निगमले जनाएको छ ।
यसो हुँदा निगमले पनि नयाँ मूल्यसूची आएको दिन नै नेपालमा पेट्रोल र डिजलको मूल्य त्यही अनुपातमा स्वचालित मूल्य अनुसार मूल्य समायोजन गर्नुपर्ने थियो ।
निगमका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ । यही अनुपातमा निगमलाई ग्यासमा मासिक लगभग ७० करोड रुपैयाँ घाटा रहेको ठाकुर बताउँछन्। उनका अनुसार गएको १ तारिखदेखि १५ दिनमा ग्यासमा मात्र ३४ करोड रुपैयाँ घाटा छ । ग्यासको घाटाका कारण मूल्य घटाउन नसकिएको उनले जिकिर गरे ।
यस्तै, डिजलमा आगामी १५ दिनमा निगमलाई लगभग ३५ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ । पछिल्लो पटक कात्तिक १४ गते भारतबाट डिजल र मट्टितेलको मूल्य घटेर आएका कारण निगमले नेपालमा पनि प्रतिलिटर ४ रुपैयाँले घटाएको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजलको मूल्य १६८ रुपैयाँमा कारोबार भइरहेको छ ।
सरकारले दसैंअघि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको थियो। त्यही अनुसार निगमले पनि स्वचालित मूल्य कायम गरेको थियो । तर, पछि ग्यासको मूल्य भारतबाट आकासिएर आएपछि चाडवाडको बेलामा बढेर आएको मूल्य नबढाउने र घटेर आएको खण्डमा मात्र मूल्य घटाउने गरी स्वचालित मूल्यलाई स्थगित गरियो ।
अन्तर्राष्ट्रिय बजारमा यो महिना कच्चा तेलको मूल्य प्रति ब्यारल ७३ अमेरिकी डलरसम्म तल झरेको थियो । यो महिनाको सुरुवाती दिनमा प्रतिब्यारल ८५ डलरमा कारोबार भएको कच्चा तेलको मूल्यमा ९ प्रतिशतले गिरावट आएर ७३ डलरमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्