नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग खेल्ने खेल महत्वपूर्ण र चुनौतिपूर्ण
काठमाडौं, कार्तिक १७। नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी(२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । त्यसैले आजको खेल चुनौतिपूर्ण छ ।
घरेलु मैदानमा भइरहेको आईसीसी टी(२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।
समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो ।
नेपालसामु ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेल्ने अवसर थियो । तर ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बननेको हो । अझ नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्ने भयो । ओमान र बहराइन बीचको सेमिफाइनल भने टीयू मैदानमा हुनेछ ।
नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगितामा निर्णायक खेलमा भिडेका छन् । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी(२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।
यस्तै एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो ।अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी(२० विश्वकपको टिकट काट्नेछ । त्यसैले दुवै टोलीलाई यो खेलको उत्तिकै महत्व र चुनौति छ । विजयी हुने टिम टी(२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै टी(२० विश्वकपमा पनि छनोट हुनेछ । पराजित हुने टिमले विश्वकप पुग्दा केही वर्ष पर्खनुपर्नेछ ।
डेढ वर्षअघि ओमानमा भएको टी(२० विश्वकप ग्लोबल क्वालिफायरको निर्णायक सेमिफाइनलमा पनि नेपाल युएईसँग नै पराजित हुँदा विश्वकप पुग्नबाट बन्चित भयो । मुलपानी मैदानमा दर्शक कम हुनेछन् । माथिल्लो मुलपानी मैदानमा यस छनोट प्रतियोगिताको समूह बी का खेलहरु भएका थिए । तर सेमिफाइनल भने नेपालले मुलपानी मैदानमा खेल्नुपर्दा दर्शकको उपस्थिति भने थोरै हुने भएको छ ।
नेपालले यस्तो महत्वपूर्ण खेल खेल्दा टी(२० मैदानमा यसअघि झण्डै २० हजार दर्शकले खेल हेर्थे । तर मुलपानी मैदानमा दर्शक बस्ने स्थायी व्यवस्था नहुँदा क्यानले सेमिफाइनलमा जम्मा ३ हजार पाँच सय टिकट मात्र बेच्ने जनाएको छ र अन्य दर्शकलाई घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ ।
यसअघि त्रिकोणात्मक शृखंलामा नेपालले मुलपानीमा खेलेका चारै खेल जितेको थियो । जसमा युएई र हङकङ विरुद्धको दुई(दुई खेल नेपालले जितेको थियो । तर टीयू मैदानमा भएको फाइनलमा भने नेपाल युएईसँग पराजित भएको थियो ।
विश्वकप छनोटका तीन खेल टीयू मैदानमै खेलेको नेपालले सेमिफाइनल पनि टीयूमै खेल्ने अपेक्षा थियो । तर ओमानसँग हारेपछि मुलपानीमा खेल्नुपर्ने भएको हो ।
मुलपानी मैदानमा यसअघि सिरिजमा खेलेको अनुभवलाई प्रयोग गर्नुपर्ने त्रिकेट एक्सपर्ट शरद भेषावकर र नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले बताए । उनले भने, ‘टीयू भन्दा मुलपानीको मैदान र पिच फरक छ । त्यहाँको कन्डिसनमा एडजस्ट हुनुपर्छ । यसअघि त्रिकोणात्मक शृंखलामा खेलेको अनुभवलाई नेपालले प्रयोग गर्नुपर्छ ।’
मुलपानीमा खेल्दा नेपालका ओपनरहरु संघर्ष गरेका थिए । टीयूमा आक्रामक सुरुवात गरेका कुशल भुर्तेलले मुलपानीमा चार खेलमा जम्मा २५ रन बनाएका थिए । आसिफले भने मुलपानीमा सुरुवात पाए पनि ठूलो स्कोर बनाउन संघर्ष गरेका थिए । यद्यपि उनले त्रिकोणात्मक शृखलाको युएई विरुद्धकै खेलमा अर्धशतक प्रहार गरेका थिए ।
नेपाल सामु डेढ वर्षपछि बदला लिने मौका यसपटक टिम उही, खेल उही तर स्थान फरक छ । समर्थकको साथ छ र टिममा पनि धेरै परिवर्तन भइसकेको छ । पछिल्लो पटक नेपाली टिममै नरहेका रोहित अहले नेपालको कप्तान छन् । रोहितको कप्तानी र मोन्टी दासईको प्रशिक्षणमा नेपालले पछिल्लो समय गज्जबकै प्रदर्शन गर्दै आएको छ । यस्तै त्यसबेला शरद भेषावकरको स्थानमा खेलेका कुशल मल्ल अहिले मुख्य ब्याटर बनिसकेका छन् ।
चोटका कारण विश्वकप छनोट गुमाएका दुई अनुभवी बलर सोमबार करण नयाँ बल फाल्छन् । त्यो बेला मुख्य पेसर रहेका अविनाश बोहरा अहिले टी(२० टिममा फर्केर डेथ ओभर स्पेशलिस्ट बनेका छन् । त्यसबेला कप्तान रहेका सन्दीप लामिछाने मुख्य स्पिनरकै रुपमा छन् ।
मिडल अर्डरमा गुल्सन अलराउण्डरको रुपमा आएका छन् । सन्दिप जोरा ब्याटरको भूमिकामा छन् ।
ओपनिङमा कुशल भुर्तेल र आसिफ निरन्तर छन् । तर नेपाली टिमको स्टार अलराउण्डर अर्थात थ्रीडी क्रिकेटर दीपेन्द्र सिंह ऐरी यही बेला चोटका कारण खेल्न पाएका छैनन् । घरेलु समर्थकले उनलाई मैदानमा अभाव महसुस गरिरहेका छन् । ओमानसँगको खेलमा पनि उनको अभाव खड्किएको देखियो ।
दीपेन्द्र नहुँदा उनको स्थानमा विवेक यादवले तीन खेल खेले । दुई खेल खासै अवसर नपाएका विवेकले ओमान विरुद्ध झण्डै नेपाललाई जिताइसकेका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाए । अन्तिम ओभरमा २६ रन चाहिँदा अनुभी बलर बिलाललाई सुरुको तीन बलमा लगातार छक्का हान्दै जित नजिक नै पुर्याएका थिए । तर अनुभवको कमीले गर्दा उनी त्यसपछि आउट भएर गेम फिनिस गर्न सकेनन् । त्यसैले फाइनलमा नेपालले ओमानसँग गरेको गल्तीलाई कम गर्दै ब्याटिङमा सुधार गर्नुपर्ने अवस्था छ ।
उता युएईका कप्तान मुहम्मद वासिम लयमा छन् । यस्तै अलराउण्डद्वय बसिल हमिद र अली नासेर पनि यो प्रतियोगितामा लयमा छन् । वृत्य अरभिन्द, अलिसान सराफुले पनि राम्रो ब्याटिङ गरिरहेका छन् । ‘वासिमको विकेट महत्वपूर्ण हुन्छ । किनकी उनी लयमा छन् । यस्तै नेपाली ब्याटरले उनीहरुको पेस बलरसँग कसरी खेल्छन त्यो महत्वपूर्ण हुनेछ,’ शरदले भने ।
यस्तै बलरमा जहुर खान र जुनैद सिद्दिकी पेस बलरको रुपमा छन् भने युवा स्पीनर बयान खानले पनि नेपाल विरुद्ध राम्रो खेल्दै आएका छन् । त्रिकोणात्मक सिरिज फाइनलमा आयान खानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पराजित गर्न भूमिका खेलेका थिए ।
नेपालले बलिङमा राम्रो गरिरहेको छ र सेमिफाइनलमा बलिङमा सोमपाल लयमा फर्कनु नेपालका लागि राम्रो संकेत छ । यस्तै ब्याटिङमा कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र रोहितको इनिङ्स महत्वपूर्ण हुनेछ ।
कप्तान र प्रशिक्षकले सेमिफाइनल खेलमा राम्रो खेलेर नेपाललाई विश्वकप पुराउने बताएका छन् । एक्सपर्ट शरदले ओमान विरुद्ध नेपालको ‘ब्याड गेम’ भएकाले युएई विरुद्ध राम्रो खेल्नुपर्ने र खेल्ने अपेक्षा राखेका छन् । ‘युएईको ‘ब्याड गेम’ आछैन त्यो सेमिफाइनलमा हुन सक्छ । नेपालले ओमानसँग गरेको गल्ती युएईसँग खेल्दा गर्नु हुँदैन । युएईसँग बदला लिएर विश्वकपमा छनोट हुने मौका छ,’ उनले भने ।
शरदकै भाषामा भन्दा नेपाल र युएईबीचको खेल ‘इन्ट्रेस्टिङ’ हुनेछ । किनभने दुवै टिम जितकै लागि छन् । विश्वकप पुग्न चाहन्छन् । तर एसियाका दुई उत्कृष्ट एसोसिएट टिममध्ये एक टिम मात्र विश्वकपमा पुग्नेछ भने अर्को टिमले टेलिभिजनमै टी(२० विश्वकप हेर्नुपर्नेछ ।
अर्को, नेपालाई डेढ वर्षअघिको पीडा भिलाउने अवसर पनि यो हुनेछ । त्यो पनि घरेलु मैदानमा समर्थकको अघि युएईलाई हराउँदै १० वर्षपछि विश्वकपको टिकट काट्न सके नेपाली क्रिकेटको लागि त्यो अर्को विशेष क्षण रउपलब्धि हुनेछ ।
टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ८ खेल भएका छन् । जसमा दुवै टिमले ४(४ खेल जितेका छन् ।
नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी–२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २–१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।
त्यसपछि २०२२ मा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो ।
यस्तै टी(२० विश्वकप छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपाल र युएईबीच फाइनल सहित तीन खेल भएका थिए । जसमा लिग चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो र फाइनलमा भने युएई विजयी भएको थियो ।
मुलपानी मैदानमा भएको लिग चरणको खेलमा नेपाल ७ विकेट र ५ विकेटले विजयी भएको थियो तर टीयू मैदानमा भएको फाइनलमा भने युएईले नेपाललाई ४ विकेटले हराएर शृखंलाको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्