शान्ति प्रक्रिया टुंगो लगाउने काममा तपाईंहरू एक्लो हुनुहुन्न भन्दै राष्ट्रसंघका महासचिव गुटेरेसले संसदबाटै गरे सम्बोधन
काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय एक नाजुक र जटिल प्रक्रिया भएको बताएका छन् । संघीय संसदको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगो लगाउने सन्दर्भमा नेपालको साथमा संयुक्त राष्ट्रसंघ पनि हुने बताएका हुन्। उनले नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई स्वागत गर्ने बताउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा नेपाल एक्लो नभएको बातए।
‘तपाईंहरू एक्लो हुनुहुन्न,’ महासचिव गुटेरेसले भने,‘अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच्च अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईंहरूलाई सहयोग गर्न तयार छ।’
उनले बितेको २० वर्षमा नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको र युद्धबाट शान्तितर्फ उन्मुख भएको भन्दै प्रशंसा पनि गरे।
‘तपाईंहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ महासचिव गुटेरेसले भने, ‘प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ।’
उनले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्यो सजिलो भने नभएको बताए।
‘हामीलाई के कुरा थाहा छ भने संक्रमणकालीन न्यायमा सफलताको सबभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्,’ गुटेरेसले भने,‘जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ। त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन्। यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन्।’
प्रतिक्रिया दिनुहोस्