कांग्रेसले सरकारलाई भन्यो– इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काऊ

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काउन माग गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।”

इजरायमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

“यस घटनाको भर्त्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ,” सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले शनिबार गरेको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्