शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छ: शिक्षामन्त्री

काठमाडौं, असोज १४ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्ने कुरा विधेयकमा समावेश गरिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उनले विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताएका हुन्।

उनले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भएपनि आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु नहुनेमा सरकार सचेत रहेको जिकिर गरे।

उनले ट्रेड युनियन अधिकार अन्तर्गत आफ्नो पेशागत हक हितका निम्ति उनीहरुले संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताए। शिक्षाको स्तरलाई माथि उठाउनको लागि राष्ट्रिय परीक्षा बोर्ड त्यसको स्वायत्ततामा कार्यरत कर्मचारीको पेशागत हक हित समेतलाई ध्यान दिनुपर्ने स्थिति रहेको उनको भनाइ थियो।

उनले भने, ‘विद्यालयको सम्पत्ति सुरक्षित हुनुपर्छ। त्यसको दुरुपयोग हुनु हुँदैन भन्ने कुरामा पनि यसमा एकदमै सही ढंगले प्रस्ताव अगाडि सारिएको छ। शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छ। मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु हुँदैन। शिक्षाको गुणस्तरलाई प्रभावित पार्नु हुँदैन। उहाँहरुले कसैको सदस्यता लिएर कसैका विरुद्धमा कसैका लागि भोट माग्ने काम गर्नु हुँदैन भन्ने कुरा राखिएको छ भने अर्कोतिर ट्रेड युनियन अधिकार अन्तर्गत आफ्नो पेशागत हक हितका निम्ति उहाँहरले संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था गरिएको छ। त्यस हिसाबले शिक्षकहरुको पेशागत उन्नयन र उनीहरुको पेशागत हक अधिकार र कर्तव्यलाई सुनिश्चित गर्नेगरी यो विधेयक प्रस्ताव गरिएको छ। शिक्षाको स्तरलाई माथि उठाउनको लागि राष्ट्रिय परीक्षा बोर्ड त्यसको स्वायत्ततामा कार्यरत कर्मचारीको पेशागत हक हित समेतलाई ध्यान दिनुपर्ने स्थिति छ।’

शिक्षामन्त्री राईले पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्ने सन्दर्भमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसाथ गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको बताए।

प्रतिक्रिया दिनुहोस्