स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दो छ: कार्यकारी निर्देशक बसौला

काठमाडौं, ११ असोज । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दै गएको बताएका छन् ।

बिहिबार काठमाडौंमा स्वास्थ्य बीमाका बारेमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक बसौलाले असहाय, निमुखालाई स्वास्थ्य सेवामा पहुँच र उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापनका लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी भएको बताए ।

उनले स्वास्थ्य बीमा सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको बताउँदै समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बीमा बोर्ड प्रतिवद्ध भई लागेको बताए । स्वास्थ्य बीमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यकासाथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम सर्वव्यापी स्वास्थ्यको पहुँच प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा सबै नागरिकमा यो कार्यक्रम पुर्याउने दिगो विकासको लक्ष्य रहेको उनले बताए ।
निर्देशक बसौलाले संविधान प्रदत आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको बताउँदैे स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख गरेको जानकारी दिए ।

बोर्डले हाल सुविधाको थैलीलाई दुइ गुणाले वृद्धि गर्नुकासाथै ज्येष्ठ नागरिकको लागि सरकारले नै बीमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाइको रुपमा वार्षिक रु.एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । साथै, सम्पूर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको समेत उनले बताए ।

स्वास्थ्य बीमा बोर्डले हालसम्म गरेको प्रगति र दिगो विकासको लक्ष्य, आर्थिक वर्ष २०८०/०८१ को प्राथमिकतामा रहेका कार्यहरु, भोगेका समस्या, चुनौति र गरिएका प्रयासका बारेमा कार्यक्रमा प्रकाश पारिएको थियो । बोर्डले प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज तथा नीजि अस्पताल गरि जम्मा ४४० वटा स्वास्थ्य प्रदायक संस्थाहरुबाट स्वास्थ्य बीमा कार्यक्रम प्रवाह भईरहेको जनाएको छ ।

यहि असोज ४ गते सम्मको आंकडा अनुसार ३३.२५ प्रतिशत परिवारका २४.६२ प्रतिशत जना यो कार्यक्रममा आवद्धता भएको बोर्डले जनाएको छ त्यस मध्ये ७० प्रतिशते नविकरण गरेको छ । बीमित मध्ये ४५ प्रतिशतले सेवा उपयोग गरेको बोर्डले जनाएकोछ । सामाजिक सुरक्षाका हकमा गरिने खर्चलाई स्वास्थ्य बीमालाई अनिवार्य बनाई स्वास्थ्य सेवामा निःशुल्क उपचारका लागि सरकारले आफ्नो राजस्वको स्रोत खर्चनु पर्ने नभई सबैका लागि स्वास्थ्य सेवा दिगो बनाउन सकिने कुरा पनि उल्लेख गरिएको छ ।

धनीसँग कर वा प्रिमियमको रुपमा लेउ र गरिबको लागि खर्च गर, निरोगीले गरेको योगदानको रकम रोगिको लागि खर्च गर भन्ने हरेक देशको नीति हुन्छ त्यही नीतिको अनुसरण गरि यो स्वास्थ्य बीमा कार्यक्रम प्रभाबकारी हुने निर्देशक बसौलाले जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्