हड्ताल गरेर कारबाहीमा पर्ने ट्याङ्करलाई सधैको लागि कामबाट विदा

काठमाडौ । नेपाल आयल निगमले तेल ढुवानी गर्ने ट्याङ्कर व्यवसायीहरुले हडताल गरेमा सम्झौता खारेज गर्ने र ट्यांकर व्यवसायीलाई सधैको लागि कामवाट विदा गरिने गरि कारबाही गरिने जनाएको छ ।
व्यवसायीले राज्यको सेवा सुविधा लिएर इन्धन ढुवानी गर्ने सम्झौता गरेकाले अत्यावश्यक ठानिएको इन्धन आपूर्तिमा हड्ताल गरे चुप लागेर नबस्ने निगमले चेतावनी दिएको हो ।
ढुवानी व्यवसायी तथा पम्प सञ्चालकले नियमित आपूर्तिलाई हलुका रुपमा लिन नहुने निगमका निमित्त प्रमुख कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । इन्धनजस्तो संवेशनशील चिजको आपूर्ति तथा वितरण रोकी हड्तालमा उत्रिए निगम कडा रुपमा प्रस्तुत हुने भट्टराईले बताए ।
भट्टराईले सरकारी कदमविरुद्ध सिन्डिकेटको पक्षमा उभिने ट्याङकर व्यवसायीलाई फेरी सरकारी कामको जिम्मा दिन नसिकने भन्दै त्यस्ता व्यवसायीलाई कारबाही गरिने बताए । व्यवसायीले सरकारसँग भाडा तथा सुरक्षा लिएर इन्धनको नियमित ढुवानी गर्ने सम्झौता गरेकाले त्यसको उल्लंघन गरेमा कारबाही स्वरुप निलम्बन वा खारेज गर्न सक्ने अधिकार आफूहरुलाई रहेको उनले दाबी गरे ।
यातायात समितिहरुको एकाधिकार विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेट कायम राख्न पाउनुपर्ने माग राख्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै हालका सवारी साधनले रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने नयाँ व्यवसायीलाई बाटो खुल्ला गरिदिएको छ । यसबाहेक सवारी साधन कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका व्यवस्था सरकारले लागू गरेको छ ।

सरकारको नयाँ व्यवस्थाले आफूहरुको एकाधिकार तोडिने भएपछि यातायात व्यवसायीले आन्दोलनको धम्की दिएका हुन्। यसअन्तर्गत महासंघले २१ गते एक दिन र २७ गतेबाट अनिश्चितकालसम्म यातायात नगुडाउने धम्की दिएका छन्।
यता पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले समेत यातायात व्यवसायीको आन्दोलनमा आफूहरुको संलग्नता रहने बताउँदै आएको छ ।
दुबै संस्थाका महासिचव विश्वप्रसाद अर्यालले संगठित भएर व्यवसाय गर्न पाउनुपर्ने यातायात व्यवसायीको एजेण्डा साझा भएको भन्दै आन्दोलनमा सहभागी हुन लागिएको बताए ।

अर्यालले यातायात व्यवसायीकोझैं २१ गते एकदिन र २७ गतेबाट अनिश्चितकालसम्म इन्धनको ढुवानी ठप्प पार्ने धम्की दिएपछि निगमले सम्झौता खारेजीसम्मको चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्