नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने एडीबीको अनुमान

काठमाडौं, असोज ३ ।  एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशत बढी छ छ । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।

एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ मा सन् २०२३ यता एसिया प्रशान्तीय क्षेत्रको अर्थतन्त्रमा सुधार हुन थालेको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर ०.५० प्रतिशतले समायोजन गरी ६.५ प्रतिशत कायम गरेको छ । जसले व्यावसायिक ब्याजदर न्यूनीकरणमा मद्दत पुग्नुका साथै आर्थिक गतिविधिलाई बढावा दिने एडीबीले उल्लेख गरेको छ । साथै चालु आर्थिक वर्षको औसत मुद्रास्फिति गत वर्षको ७.७ प्रतिशतको तुलनामा घटेर ६.२ प्रतिशतमा सीमित हुने उल्लेख छ ।

जबकी गत साउनमा महंगी दर ७.५२ प्रतिशतले कायम भएको थियो । सरकारले चालु आर्थिक वर्षमा महंगी दर ६.५ प्रतिशत सिमीत राख्ने लक्ष्य राखेको छ ।

मौद्रीक नीतिका कारण बाह्य क्षेत्रमा सुधार आएको जनाउदै एडीबीले सोही अनुसार हाल १०.३ महिनाको वस्तु तथा आयात धान्न मुलुकमा पर्याप्त विदेशी विनीमय सञ्चिति उपलब्ध रहेको उल्लेख छ ।

राष्ट्र बैंकले भने सात महिना धान्न पुग्ने सञ्चिति कायम राख्ने लक्ष्य लिएको छ ।

विप्रेषण आप्रवाह र उच्च आयातमा देखिएको स्थायित्वको बाबजुद प्रतिवेदनले चालु खाता घाटा भने कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्