ट्याक्सी मिटरमा जान मानेन, १०३ मा फोन गर्नुस्

काठमाडौं। मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही तीव्र पारेको छ।  ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरेको बताए। ‘पहिले दैनिक १५\२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’  उनले भने।

ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्न आग्रह गरे।  मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ।

सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको बताए।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्