दुई दलित विद्यार्थीको अभिभावकत्व प्रधानमन्त्रीद्वारा ग्रहण

काठमाडौ । सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रहण गरेका छन् ।

आज भएको सिरहाको कल्याणपुरस्थित विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पवन मरिक डुम र रुपाकुमारी खत्बेको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियान अन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

निरक्षरता उन्मूलनमा सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको र यसको लागि सबैले आ–आफ्नो ठाउबाट पहल गर्नुपर्ने पनि बताउनुभयो ।

 

तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”

सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास पनि दिलाए ।
पाठ्यपुस्तक वितरणको क्रममा भइरहेको कमिसनको जालो रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्