कार्यालयमा ८ दिनदेखि लगाएको तालाबन्दी खुल्यो

काठमाडौ । विगत आठ दिनदेखि बैतडीको सुर्नया गाउँपालिका–१ मा लगाइएको तालाबन्दी आज खोलिएको छ ।

केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले गाउँपालिका–१ ले बनाएको योजनाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए ।

साबिककोे हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अब उपरान्त योजना निर्माणका काममा बाधा नपु¥याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिनुभयो ।

सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ । यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरुले अवरोध पु¥याएका थिए ।

हटैराजमा क्रियाशील राजनीतिक बाम गठबन्धनका दल तथा राप्रपाका प्रतिनिधिहरुद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले एकलौटी निर्णय गरेको आरोप लगाएका थिए । तर वडाध्यक्ष भने सम्बन्धीत ठाउँबाटनै पारित भएका योजना कार्यान्वयन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्