यातायात समितिहरुको कारोबार रोक्का गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।  सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ ।

यसका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने स्रोतले बताएको छ ।
देशभर जिल्ला प्रशासन कार्यालयहरुका दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।

विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
व्यवसायीले वैशाख २६ गतेबाट अनिश्चितकालनीन सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेका छन् ।
यातायात समितिहरु संस्था दर्ता ऐन अन्तर्गत गैरसरकारी संस्थाका रुपमा दर्ता भएर सञ्चालित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्