नेविसंघद्वारा निषेधाज्ञाको विरोध, जुनसुकै स्थानमा पनि प्रदर्शन गर्न पाउनुपर्ने माग

काठमाडौं । नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ ।

नेविसंघले प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
सो अवसरमा नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसघ नेता निरन्जन थापाले जानकारी दिए ।
केन्द्रीय सदस्य भट्टले अधिकारीले बाचन गरेको ज्ञापनपत्रको विषयबस्तुमाथि प्रकाश पारेका थिए ।

विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै जिप्रका काठमाडौंले प्रदर्शन गर्न ७ स्थान तोकेको थियो ।

प्रशासनले खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्