अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत
काठमाडौं, साउन ३१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे ।
उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए । उनले अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताए ।
उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताए । नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए । मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताए ।
अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताए । नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्