छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

काठमाडौं , साउन ३० ।  मुगु, सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका-५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन्। साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सिरहा, भगवानपुर गाउँपालिका-२ डोमराहा टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया देवकी देवी यादवको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर हुँदै प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

नुवाकोट, बिदुर नगरपालिका-५ तल्लो पिपलटारस्थित सडकमा बा.९१ प ६६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय कबिन कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

महोत्तरी, पिपरा गाउँपालिका-३ स्थित सडकमा प्रदेश २-०२-००४ प ४९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक महोत्तरी गाउँपालिका-३ मडई बस्ने ३५ वर्षीय श्रवण कुमार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला

रोल्पा, माडी गाउँपालिका-६ डोङखोलास्थित माडी खोलामा सोही गाउँपालिका-१ भित्तावाङ बस्ने ४७ वर्षीय कलम सिंह घर्ति मगर सोमबार मृत अवस्थामा फेला परेका छन्। बारा, कलैया उपमहानगरपालिका-४ जानकी हल अगाडि हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु

सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५५ वर्षीय राज किशोर यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा मिक्चरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो। साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु
बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट बस्ने ६५ वर्षीया गुवा विकको सोही ठाउँस्थित रोडी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। खोला तर्ने क्रममा बगाई बेपत्ता भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्