कांग्रेसको निष्कर्ष : सुन प्रकरणको छानविन सीआईबीले गर्छ, अर्को समिति चाँहिदैन

काठमाडौं, साउन २९ ।  सत्ता साझेदार नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ने छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज (सोमबार) सम्पन्न संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

बैठको निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले सुन तस्करमा जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।

सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ’, उनले भने, ‘जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’

बैठकमा संस्थापन इतर समूहका नेताहरूले उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने बताए पनि निर्णय भने त्यस्तो हुन सकेन । लेखकले अहिले नै कांग्रेस सुन प्रकरणका लागि उच्चस्तरीय समिति चाहिन्छ भन्ने पक्षमा पुगिनसकेको बताए ।

‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ । यसलाई पारदर्शी र निष्पक्ष बनाउनु पर्छ । अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन ।’

प्रतिक्रिया दिनुहोस्