बंगलादेशीलाई बन्धक बनाई फिरौती असुल्ने गिरोह पक्राउ

काठमाडौं, साउन २८ । बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात व्यक्ति प्रक्राउ परेका छन्।

बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धारसमेत गरेको छ।

गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानका होटेल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडी मोसिउर, २१ वर्षीय जहाँगिर आलम, ३८ वर्षीय सलिम मियाँ र २१ वर्षीय तहमिना बेगम रहेका छन्। त्यसैगरी, सिन्धुपाल्चोक बलेफी– ६ की २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुली– ४ की ३३ वर्षीया रोशनी राई रहेका छन्।

वरिष्ठ प्रहरी उपरीक्षक डा। मनोज केसीका अनुसार उनीहरूले बन्धक बनाएका ६ बंगलादेशी नागरिकको उद्धार गरिएको छ। कालीमाटीडोलमा रहेको मेमोरियल गेस्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई तथा हरिसिद्धिको एक घरबाट राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्