कर्मचारी सन्ततिको छात्रवृत्तिमा ७४ करोड खर्च, उपलब्धि शून्य

काठमाडौं । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडैाँ लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्। यो छात्रवृत्तिमा मात्रै सरकारले आव ०७३/७४ सम्म ६० करोड ४१ लाख ४ हजार वितरण गरिसकेको छ। आव ०७४/७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ। छात्रवृत्ति पाउने रकम दुई लाखदेखि पाँच लाखसम्म तोकिएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ। निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ।

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६/६७ देखि सन्तति छात्रवृत्ति दिन थालेको हो।सात वर्षको अवधिमा (आव ०६६/६७ देखि ०७३/७४ सम्म) मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् भने चालु आव ०७४/७५ मा ७ सयलाई छात्रवृत्ति वितरण गर्ने तयारी छ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौं लगानी भए पनि सरकारले सोअनुसार प्रतिफल प्राप्त गर्न नसकेको भन्दै सामान्यको ध्यानाकृष्ट गराएको छ।

छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उत्तीर्ण भएको एक वर्षभित्र सरकारले कुनै संस्था-निकायको काममा खटाउन सक्ने निर्देशिकामा व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्