अज्ञात समूहद्वारा रोडा उद्योगमा आगजनी, १० करोडको क्षति

काठमाडौं । नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लू साईन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।
नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेसिनरी तथा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार राती रोशीखोला कटुन्जेवेंशीस्थित उद्योगमा पार्किङ गरिएको एक थान ब्याक हो लोडर, एक थान जेनेरेटर र चारवटा टिपर आगजनीबाट पूर्ण क्षति भएको छ ।

त्यस्तै, क्रसर मेसिनमा बमबाट क्षति गराइएको छ । सोही स्थानमा रहेका पाचवटा टिपरका सिसा फुटाएर क्षति पुर्‍याइएको छ।

आगजनीबाट बा४ख २९००, बा५ख ३२८६, बा५ख ३२८८ र बा२क ३२४४ नम्बरका टिपर पूर्ण क्षति भएका छन् । यीमध्ये तीनवटा टिपर कम्पनीकै नाममा दर्ता भई खानीदेखि उद्योगसम्म कच्चा सामान ढुवानीमा प्रयोग हुँदै आएका थिए । त्यस्तै, बा२क ४७८९, बा२क ३२४५, बा४ख ५१३२ र बा४ख २९०१ नम्बरका टिपरका सिसा फुटाइएको अवस्थामा रहेको छ।

त्यस्तै, उद्योगबाट केही दूरीको खानीस्थलमा रहेका दुईवटा एक्साभेटर पनि आगजनीबाट पूर्ण क्षति भएका छन् । चैत ३० गते साँझ एक्साभेटर अपरेटर र टिपर चालक नयाँ वर्ष मनाउने भनि हिँडेको बुझिएको छ।

आगजनीसँगै क्रसर उद्योग र मेसिनरीमा राखिएका ३ थान कुकर बम पनि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । घटनास्थलबाट फर्किएका काभ्रेका एसपी सहकुलबहादुर थापाले घटनामा संलग्नको प्रारम्भिक पहिचान भएकाले थप अनुसन्धान भइरहेको रहेको बताए । घटना भएको उद्योगबाट ५ सय मिटरको दूरीको कटुन्जेबजारमा प्रहरी चौकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्