माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा कसले के भने ?

काठमाडौं, २०) साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको चौथो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो दिन प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा टेकेर केन्द्रीय सदस्यहरूले आफ्नो धारणासँगै पार्टी सुधारका लागि सल्लाह सुझावको प्रस्तुत गरेका छन्।

पदाधिकारी तहका नेताहरू नेतृत्व र पार्टी बलियो हुँदै गएको बताए पनि भूगोलको राजनीति गर्ने केन्द्रीय सदस्यहरूले पार्टीको कमजोरी र जनमानसको मनस्थितिबारे खुलेर कुरा राखे।

पार्टीका उपमहासचिव वर्षमान पुनले आफ्नो बाँकी जीवन पार्टी र मुलुक निर्माणमै लगाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टी पुनर्निर्माणको चरणमा रहेको बताउँदै सरकारको राम्रो काम पार्टीभित्रको शुद्धीकरणको अभियानसमेत रहेको बताए।

‘हामी पार्टी विघटनको होइन, पुनर्निर्माणको चरणमा छौं। सरकारले राम्रो काम गरिरहेको छ। सरकारको भ्रष्टाचार विरोधी अभियान हामी सबैको शुद्धीकरणको अभियान हो,’ उनले भने। उनले पार्टीमा कुनै पनि गुट तथा उपगुट नभएको प्रष्ट पारे।

केन्द्रीय सदस्य कुलप्रसाद केसीले भने सहकर्मी सहयोद्धाका बीचमा निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दुस्खद् रहेको बताए।

पूर्वमन्त्री समेत रहेका महेश्वर गहतराजले सरकारको कामका कारण पार्टीप्रति आमनागरिकको धारणा सकारात्मक देखिएको बताए। पार्टीभित्र विचार र राजनीतिलाई केन्द्रबिन्दुमा राखिनुपर्नेमा उनको जोड ‍थियो।

केही केन्द्रीय सदस्यहरूले पार्टीलाई सुधार गर्नुपर्नेमा जोड दिए। पार्टीलाई सुधार गर्नुपर्ने कुराहरू उठ्दै गर्दा के(के कुरामा बिग्रियो भन्ने विषय पनि केन्द्रीय सदस्यहरूले बोलेका छन्।

पार्टीको आन्तरिक अवस्था, सिंगो मुलुकको समसामियक परिस्थिति र माओवादी नेतृत्वको सरकारबारे पनि केन्द्रीय सदस्यहरू खरो सुनिए।

पार्टीको निर्वाचन आयोगका सदस्यसमेत रहेका स्थिरप्रसाद खनालले पार्टीमा को सदस्य र कति पदाधिकारी छन् भन्नेसम्म आयोगलाई थाहा नभएको बताए। ‘हामीले शपथ खुवाएको १५१ जना केन्द्रीय सदस्य र अध्यक्ष मात्र हो। अरू हामी चिन्दैनौं,’ उनले भने, ‘पदाधिकारी को(को छन्, पछि को थपिए निर्वाचन आयोगलाई थाहा छैन।’

परशुराम खापुङले पार्टीको पहिचान नै हराएको दुखेसो पोखे।  उनले माओवादी नेतृत्वको सरकारले ल्याएको बजेट उत्पादनमुलक हुनुपर्ने, उदारवादी अर्थतन्त्र त्याग्नुपर्ने, परराष्ट्र नीतिमा असंलग्नता त्याग्नुपर्ने बताए।

अर्का केन्द्रीय सदस्य डम्मर रावलले पनि पार्टीमा विचारकै खडेरी रहेको बताए। सहर, विश्वविद्यालय, क्लब र खाडीमा तीन महिने अभियान नै चलाउनुपर्ने उनको सुझाव छ।

केहीले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए। ‘

दलाल, तस्करले मात्र चुनाव जित्ने अवस्था छ। निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्छ,’ केन्द्रीय सदस्य अमृता नेपालले भनिन्।

केन्द्रीय सदस्य हर्क नेम्वाङले प्रदेश समितिको औचित्य नै नभएको बताए।

कम्युनिष्ट पार्टीहरूबीच पुनःएकता हुनुपर्ने पनि उनको जोड थियो। महाधिवशेनमा पास भएको योजना अगाडि बढाएर ०८४ को निर्वाचनको तयारीमा लाग्न उनले सुझाए।

अर्का केन्द्रीय सदस्य गुप्तबहादुर हमालले पार्टीको नीति तथा योजना ठीक भए पनि कार्यान्वयनमा शंका रहेको बताए।

‘बैठकभन्दा भेला जस्तो भयो। विधान सम्मेलन गर्‍यो फेरि बाध्यता भन्दै कमिटी तन्काउने काम भै हाल्छ,’ उनले भने।

उनले भ्रष्टाचारविरूद्ध सरकाले गरेको काम स्वागतयोग्य भए पनि कतिपय काण्डमा पार्टीकै नेताहरू मुछिएकोले छानबिन गर्नुपर्ने बताए।

इन्द्रप्रसाद गोतामेले गाउँको संगठन सुदृढ गरी सहर र मधेशको संगठन बनाउन विशेष योजना बनाउनुपर्नेमा जोड दिए।

‘साइबर विभाग बाएर प्रचार व्यवस्थित गरौं, अभियानको नारा ुजनताबीच माओवादी’ बनाउनु उत्तम हुन्छ,’ उनले प्रस्ताव गरे।

मधेशलाई विशेष ध्यान दिनुपर्नेमा केन्द्रीय सदस्य राजन पौडेल पनि सहमत सुनिए।

अधिकांश केन्द्रीय सदस्यहरूले गुनासो र नैराश्यता प्रकट गर्दैगर्दा नर्मल आचार्य आशातित सुनिए। ‘पार्टी बिग्रियो, सकियो भनेर हामी आफैंले भन्दै हिँड्ने भाष्य बेठीक छ,यसलाई फेरौं,’ उनले भने।

हर्क नेम्वाङ मिक्सोले कोशी प्रदेशमा पार्टीले पहिचानको मुद्दा तोडेकोबारे नेतृत्वसँग प्रश्न गरे। ‘त्यतिमात्रै होइन बजेट आउनुभन्दा ४ दिनअघि प्रदेश सरकार छाड्ने निर्णय, सभामुखको हस्ताक्षर सम्मको समीक्षा जरूरी छ,’ उनले भने। प्रदेशमा मध्यावधि चुनावको खतरा रहेकोले यसबारे पार्टीको धारणा जरूरी रहेको पनि नेम्वाङले बताए।

तस्बिरः प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्