३३ केजी सुन काण्डमा संलग्नको सम्पत्ति रोक्का, व्यपारीसहित ३८ जनामाथि अनुसन्धान हुँदै

काठमाडौं । ३३ केजी सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।

सनमको हत्या आशंकामा तानिएका विरुद्ध प्रहरीले सम्पूर्ण कारोवार रोक्का गरी अनुसन्धान थालेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् ।

प्रहरीले हालसम्म १७ जनालाई मात्र पक्रोको छ । सुनकाण्डमा उर्लावारीका समन शाक्यको हत्यापछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको छ ।

पौडेलको टोली पूर्व गएपछि ३८ जनाको सम्पत्ति रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको उच्च प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले चैत २६ गते अनुसन्धानकालागि ३८ जनाको सबै कारोवार रोक्का गर्न अदालतसँग आदेश मागेको थियोे ।

अदालतले चैत २६ गते नै अनुसन्धानकालागि ३८ जनाको बैक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो ।

गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनालाई थप अनुसन्धान गर्न म्याद थपिएको छ ।

फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’ पनि छन् ।

गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा छन् । १९ फागुनमा सनमकोे शव राखिएको स्करपियो विराटनगर–३ मा फेला परेको थियो ।

शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति बनाएको हो ।

तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिने क्रममा भरिया सनम शाक्यको मृत्यु भएको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्