प्रभु बैंक लिमिटेडद्वारा पशुपति क्षेत्र विकास कोषलाई टाटा एसको हाइड्रोलिक हपर टिप्पर गाडी प्रदान

काठमाडौं, २८ असार । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ ।

बुधगते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गर्नु भयो । उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत रु. ३ लाख रकम समेत उपलब्ध गराउने छ ।

उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कोषाध्यक्ष नारायण प्रसाद सुबेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत कोषका परिषद् सदस्यहरु तथा अन्य पदाधिकारीहरु, बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे लगायतको उपस्थिति रहेको थियो । उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्