कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं, असार २५ ।  कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीतको कार्य भएको रिट निवेदकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्