कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं, असार २४ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (आइतबार) सुनुवाइ हुने भएको छ ।

एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

नेकपा एमाले कोशी प्रदेशमा संसदीय दलका नेता समेत रहेका कार्कीले नव निर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्