तस्करीको साढे ३३ केजी सुनले लियो तीनको ज्यान

काठमाडाैं   । तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् ।

तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या गरे । नेपाल एयरलाइन्सका लोडर चौधरी महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थिए । अर्का आरोपी सानु बनले पनि केही दिनअघि प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । तर, प्रहरीले बन आत्महत्याको घटना गोप्य राखेको छ । उनी थाई एयरवेजका इन्जिनियर थिए ।

‘प्रेमलाल चौधरी शुक्रबार बिहान ४ बजे हिरासत कक्षको ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परे । उनको उद्धारका लागि प्रहरी ट्वाइलेटभित्र छिर्यो । पासोबाट निकाल्यो । बाँच्छन् कि भन्ने लागेर तुरुन्तै वीर अस्पताल लगियो । तर, बचाउन सकिएन । बनको घटनाको सम्बन्धमा भने थाहा भएन,’ प्रहरी वृत सिंहदरबारका प्रमुख डिएसपी अपिलराज बोहराले  बताए ।

प्रतिक्रिया दिनुहोस्