सवारी लाइसेन्सको राजश्व अनलाइनबाटै भुक्तानी, विचौलिया राजको अन्त्य हुने अपेक्षा

काठमाडौं, असार २० ।  सवारी लाइसेन्सको राजश्व भुक्तानी अब अनलाइन बाटै हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रालयले बुधबारदेखि पोखराको यातायात कार्यालयमा अनलाइन बाटै राजश्व भुक्तानी सुरुवात गरिएको हो ।

भौतिक योजनता तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले तयार पारेको पोर्टलमा क्लिक गरेर सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा सुरुवात गरेका हुन् ।

अनलाइनबाटै राजश्व भुक्तानी सुरू भएसँगै यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

मन्त्री ज्वालाले यातायात कार्यालयमा लाग्ने भीडलाइ कम गर्न अनलाइन सेवाको शुभारम्भ गरिएको बताए ।

‘अहिले सबै यातायात कार्यालयमा लाग्ने लामो भीडले हामीलाइ गिज्याइरहेको छ, त्यो भीडलाई कम गर्न हामीले अनलाइनबाट राजश्व भुक्तानी सेवाको सुरू गरेका हौं । विचौलियाको अन्त्य गर्न पनि यो जरुरी थियो’, मन्त्री ज्वालाले भने ।

उनले मन्त्रालयले सकेसम्म कार्यालय उपस्थित हुनुपर्नै बाध्यताको अब बिस्तारै अन्त्य गर्दै जाने बताए ।

अब १० वर्षमा मात्रै लाइसेन्सको नविकरण गर्ने तयारि गरिएको पनि उनले बताए ।

यातायात विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले पहिलो पटक पोखराको कार्यालयमा अनलाइन प्रणाली लागू गरिएको र एक महानाभित्र सबै कार्यालयमा लागू गरिने बताए ।

‘आजबाट परिक्षणकारूपमा हामीले पोखरा कार्यालयमा अनलाइन प्रणाली लागू गरेका छौं, १५ दिनको अवधि हेरेर आगामी एक महिनामा सबै कार्यलयमा यस्तो सेवा विस्तार गर्छौं’, उनले भने ।

नयाँ लाइसेन्सको राजश्व, नविकरण तथा स्तर थप (कोटा थप)को राजश्व भुक्तानी पेमेन्ट गेटवे मार्फत गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्