माओवादी केन्द्रको यूटर्न

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारीमा रहेको बेला यू टर्न भएको छ । सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्न खोजेको सूचना आएको भन्दै राजीनामा नदिने घोषणा गरे ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले ‘सरकार छाड्ने घोषणा गर्न बनाइएको पत्र’ समेत देखाएका छन् ।

उनले भने, ‘निर्वाचन सार्ने षडयन्त्र हुँदैछ । जनताप्रतिको उत्तरदायीत्व सम्झिएर र यो कुरा जनताले थाहा पाउनुपर्छ भनेर मैले तपाईंहरुलाई भनिदिएँ ।’

उनले सरकारबाट राजीनामा नदिने पनि बताए । यद्यपी सरकारमा बस्ने र मन्त्री पद ओगटिरहने लोभ आफूहरुलाई नभएको समेत बताए ।
मंगलबार विहान मात्र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा माओवादीबाट मन्त्री भएकाहरुलाई विना विभागीय बनाउने बताएका थिए ।

त्यसको लगत्तै माओवादी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारीमा जुटेको थियो । तर, संसद पनि नभएको र सरकार पनि छाड्दा प्रधानमन्त्रीले चुनाव सार्न सक्ने नेताहरुको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्