शेयर बजार ५७ अङ्कले बढेर ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं, असार १२ ।  शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो । यसअघि गएको माघ १५ गते नेप्से २१ सय ९२ विन्दुमा पुगेको थियो ।

आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर बढेको छ । लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ७५ वटा कम्पनीका एक करोड ३१ लाख सात हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ३३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । यसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् । समग्रमा बजार बढेको दिन आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्