महानगरको निर्देशनपछि १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडौं , असार ६ । काठमाडौं महानगरपालिकाको निर्देशनपछि संस्थागत विद्यालयका १३ हजार विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्। महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशनपछि ४६५ वटा विद्यालयले छात्रवृत्ति दिएका कारण १३ हजार विद्यार्थीहरूले विभिन्न किसिमको छात्रवृत्ति पाएको बताएका हुन्।
उनका अनुसार महानगरपालिकाभित्र ५०४ निजी विद्यालय छन्। तर,४६५ वटाले मात्रै छात्रवृत्ति विवरण बुझाएका छन्। प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने प्रमुख साहले फेसबुकमार्फत जानकारी दिएका छन्।
महानगर प्रमुख साहले हालसम्म विवरण नपठाएका ३९ विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिरेर एकपटक थप विवरण बुझाउने मौका दिइने जानकारी दिए।
‘त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ९४० बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’उनले भनेका छन्।
विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएको उनले बताएका छन्। ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ,त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ,’उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
महानगरपालिकाले बारम्बार छात्रवृत्ति वितरणको लागि ताकेता गरे पनि अटेर गरेपछि जेठ २३ गते विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो।
महानगरपालिकाले निजी विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धमा वैशाख १० गते नै परिपत्र जारी गरेको थियो।
जेठ १० गते गोरखापत्रमै सार्वजनिक सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी त्यसको जानकारी जेठ १६ गते कार्यालयमा पठाउन निर्देशन दिएको थियो तर ती विद्यालयहरूले उक्त विवरण पठाएको थिएन।
प्रतिक्रिया दिनुहोस्