बौद्ध साहित्यमा ‘पञ्चविशतिसाहस्रिका’ कृति बजारमा

काठमाडौँ २२ जेठ । बुद्धवचन अनुवाद समितिले २५ हजार श्लोकको बौद्ध साहित्य नेपाली भाषामा अनुवाद सम्पन्न गरेको छ ।

हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थमा लेखिएको ‘पञ्चविशतिसाहस्रिका’ कृतिलाई सामान्य धर्मावलम्बीलाई बुझाउन सरल नेपाली भाषामा अनुवाद गरिएको हो ।

बौद्ध साहित्यमा महत्वपूर्ण मानिने शून्यता दर्शनमा आधारित ज्ञानलाई लिपिबद्ध गरिएको कृतिमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको, वस्तु तथा पदार्थ सहअस्तित्वमा आधारित हुने, सत्ता तथा शक्ति परिवर्तनशील हुने सन्देश दिइएको छ ।

समाजमा मानिस लोभ, मोह, रिस, रागबाट मुक्त भएपछि प्राप्त हुने मानवीयताले एकापसमा सदभाव, भाइचारा, सामाजिक न्याय, समानता कायम भई मानव कल्याण तथा विश्व शान्ति र समृद्धिको चाहना पूरा हुने उपाय कौशल कृतिमा उल्लेख गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा बौद्ध गुरु खेन्पो सम्डुबले कृतिको विमोचन गर्दै आध्यात्मिक शिक्षाको कमि तथा अज्ञानताका कारणले संसारमा युद्ध, हिंसा भइरहेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न बौद्ध दर्शन र साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले विशष्ट शान्ति र मानव कल्याणका लागि बौद्ध शिक्षा उपयोगी रहेको विचार व्यक्त गर्नुभयो ।

बुद्धवचन अनुवाद समितिका अध्यक्ष एवं बौद्ध विद्धान् टिका शेर्पाले यसअघि आठ हजार श्लोकको कृति अनुवाद भइसकेको जानकारी दिँदै बौद्ध साहित्यका महत्वपूर्ण कृतिलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न
आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्