सुन अहिलेसम्मकै महँगो, एक हप्तामै बढ्यो तोलामा ५ हजार
काठमाडौं, जेठ १९ । सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको लाग्यै छ ।
बजेट घोषणापछि बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको थियो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएकाले नेपालमा मूल्य उच्च दरले बढेको हो ।
बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय पुगेको थियो । शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर १ लाख १३ हजार ३ सय पुगेको छ । यसरी एक हप्तामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजारले बढेको छ ।
त्यस्तै शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्