नेपाल – भारत प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दै

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली त्यसतर्फ गएको छ ।

बिहीबार र शुक्रबार दुई दिन दिल्लीमा बस्ने बैठक प्रतिवेदन लेखनमा केन्द्रित रहने समिति सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो । दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बस्न लागेको हो ।

यसअघि गएको फागुन १३ र १४ गते काठमाडौंमा बसेको बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए ।

भोलिदेखि सुरु हुने बैठकमा दुवै पक्षले एक अर्काको प्रतिवेदनमा सुझाव दिने छन् ।

बैठकमा नेपाल पक्षले दिएको मस्यौदामा भारतीय पक्षले प्रतिक्रिया दिने र दुई पक्षीय सम्बन्ध सुधारका बाध्यता पनि भारतीय पक्षले जानकारी गराउने बुझिएको छ । नयाँ दिल्लीमा हुने बैठकपछि अन्तिम प्रतिवेदन लेखनमा दुवै पक्ष जुट्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्