आगामी बजेटको स्रोत जुटाउन सकस : अर्थमन्त्री महत
काठमाडौं, बैशाख २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकस रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंकले आज काठमाडौंमा गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौ अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको औंल्याए। ‘हजारौं आयोजनाको ठेक्का लागिसकेको छ तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ। अहिले सबैभन्दा ठूलो सकस भनेको स्रोतको चुनौती हो,’ अर्थमन्त्री महतले भने।
उनले सरकारी राजस्व कम भएको, अनुदान र ऋण पनि लक्ष्यअनुसार संकलन हुन नसकेको अवस्थामा धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको बताए। अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री महतको भनाइ छ।
‘लगानीलाई सहज बनाउनुको विकल्प छैन। जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ। नियम–कानुन पालना गरेर सहज रुपमा उद्यम गर्न सक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ’, उनले भने। अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा. महतले बताए।
अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको उनले जानकारी दिए।
मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक रहेको महतले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्