आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्: मौसम बिभाग

काठमाडौं, बैशाख १९ ।  आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ।

‘देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखिको मौसम बदली मंगलबार पनि उस्तै हुनेछ। ‘मंगलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घट्दै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ”, उनले भने। उनका अनुसार बुधबारदेखि भने केही बर्षावाला माैसम कमजोर हुँदै जानेछ।

आज नेपाल र स‌युक्त अरब इमिरेटस युएईका बिचमा साेमवार पुरा हुन नसकेकाे खेल आज हुँदैछ। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेकाे बखतमा पानी पर्न सुरु गरे पछि राेकिन पुगेकाे थियाे।

राेकिएकाे उत्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नराेकिए पछि दिउँसाे ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेकाे हाे। जुन खेल आज ९ बजेवाट सुरु हुँदैछ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्