इन्टरनेसनल भनिने स्कुलमा एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने काठमाडौं महानगरको नियम

काठमाडौं, बैशाख १७ । काठमाडौं महानगरपालिकाले इन्टरनेशन भनिने विद्यालयमा एक तिहाई विदेशी विद्यार्थी हुनुपर्ने जनाएको छ। इन्टरनेशनल भनेर झुक्याउने गरिएको अवस्थामा महानगरले नयाँ नियम ल्याएको हो। यसैगरी नेशनल जोड्न चाहने विद्यालयमा कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत हुनुपर्ने बताइएको छ।

‘कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ,’ निर्देशनमा भनिएको छ।

नियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्ने बताइएको छ।

समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने महानगरपलिकाले जनाएको छ। ‘तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ,’ नियमावलीमा भनिएको छ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको नियम ७० को उपनियम (१) र (२) ले विद्यालयको नाम र चिह्नका बारेमा एकरुपता ल्याउन खोजेको मेयर बालेन शाहले जानकारी दिएका छन्।

यसैगरी विद्यालयको चिह्न षट्कोण हुनेछ। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने बताइएको छ।

नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन महानगरले आग्रह गरेको छ। नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने समेत चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्