आइजिपी बढुवा सिफारीस समितिको बैठक बस्दै, खनाल, खरेल र कार्की पहिलाे दाैडमा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। मंगलबार बिहान आइजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दै छ।

मंगलबार नै बिहान साढे नौ बजे मन्त्रीपरिषद्को बैठक बोलाइएको हो। त्यसअघि बढुवा सिफारीस समितिको बैठक बस्न लागेको हो। स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङ्कन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाइसकेको छ।

आज बिहान आइजिपी बढुवाका लागि गृहमा बैठक बस्न लागेको गृहसचिव प्रेम कुमार राईले नेपाल लाइभलाई बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आईजिपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान छैन। सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ। तर, पनि गत वर्ष जस्तो आइजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारीस समितिका आधारमा आइजिपी बढुवा गर्न लागेको हो।

नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

नेपाल प्रहरीमा आइजिपीसँगै प्रशासनतर्फका सबै एआइजीले पनि अवकाश पाउँदैछन्। त्यसकारण डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्नुपर्ने प्रावधान छ। जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ‘फ्रन्टलाइन’ मा छन्।

सशस्त्र प्रहरीमा एआईजी सर्वेन्द्र खनाल अरुभन्दा ९ महिना सिनियर छन्।

प्रतिक्रिया दिनुहोस्