कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्डः कर्मचारी दम्पत्तीलाई अब एकै ठाउँ दरबन्दी !

काठमाडौँ  । श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ ।

सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था छ ।

मापदण्ड छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ५७ हजार दरबन्दी स्वीकृत भएलगत्तै सरकारले त्यहाँ कर्मचारी खटाउन मापदण्ड तयार गरेको हो ।

श्रीमान, श्रीमती फरकफरक ठाउँमा कार्यरत रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुने भएकाले दुवैलाई एकै ठाउँमा सरुवा मिलाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

मापदण्डमा स्थानीय तहमा कर्मचारी खटाउँदा दीर्घरोगी, जेष्ठता, अपाङ्गता भएका र गर्भवती एवं एक वर्षभन्दा मुनीको बच्चा भएका कर्मचारीलाई सरुवामा प्राथमिकता दिने उल्लेख छ ।

दीर्घरोगी, अपाङ्ग र ५५ वर्ष पूरा भएका कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउने र गर्भवती तथा एक वर्षभन्दा कम उमेरको बच्चा भएका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने मापदण्ड तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्