५९ जिल्लाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

काठमाडौं, बैशाख ४ ।  नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ ।गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।

सोमवार पाठ्यपुस्तक विक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ ।अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताए ।उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको दाबी गरे ।

उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी विक्रीवितरण गरिहेको जानकारी दिए ।

उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक विक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताए । अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने उनले बताए ।

प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे ।

उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक विक्रीवितरण गरेको बताए । उनले अहिले हिमाली जिल्लाहरूका सबै विद्यालयमा पुस्तकहरू पुगिसकेको दाबी गरे ।

दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको उनको भनाइ छ ।

पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पु¥याउन सफल भएको उनको भनाइ छ ।
३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पु¥याएकाले सहज भएको उनी बताउँछन् ।

कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्याउन सकिएको उनले बताए ।

८५ करोड ऋण लिएर पुस्तक छपाइ

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको उनको भनाइ छ ।

केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक विक्रीवितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ ।

जसमा सोलुखुम्बु, धनकुटा, मोरङ,सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुुर्खेत, डोटी, डडेलधुरा, कञ्चनवुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक विक्रीवितरण हुन बाँकी रहेका छ ।

सामग्री केन्द्रका अनुसार विक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक विक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याउने गरी काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्