नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग र भारतीय कम्पनी एसबीआई क्यापिटल मार्केट्सबीच सम्झौता

भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एसबीआई क्यापिटल मार्केट्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, सिण्डीकेसन, प्रोजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । कम्पनीका अनुसार नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको र परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएकोले यो सम्झौता गरिएको हो ।

यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्