भित्रभित्रै फैलँदै कोरोना संक्रमण, खोप लगाउन अपिल

काठमाडौं, चैत २८ ।  सोमबार एकैदिन १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि हुँदा ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरेका थिए । कुल २ हजार ५६६ जनाको परीक्षणमा १२४ जना संक्रमित देखिएका हुन् । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो ।

चिकित्सकहरुका अनुसार कोरोना भाइरस कोभिड १९ को संक्रमण विस्तारै बढ्न थालेको छ । परीक्षण गर्नेहरुमा निरन्तर संक्रमण दर बढेर गएको छ भने परीक्षण नै नगर्ने प्रवृति पनि रहेको चिकित्सकहरु बताउँछन् । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा रहेको हो । हाल सक्रिय संक्रमितको संख्या ४४४ छ । १ हजार हाराहारीमा कोभिड परीक्षण हुँदै आएको आएको छ ।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । विज्ञहरू कोरोना संक्रमणको अर्को लहरको पूर्व संकेत देखा परेको बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण नयाँ लहरको सुरुवाती चरणमा प्रवेश गरेको छ । उनी भन्छन्, ‘कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा तीव्र गतिमा फैलिरहेको छ । ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी फैलिने भएकाले अबको तीन–चार हप्तामा संक्रमणले उच्चबिन्दु छुने आकलन गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी सक्रिय छ । चैत महिनामा संकलन गरिएका २४ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट एक्सबीबी.१.१६ नै पुष्टि भएको छ ।

एक्सबीबी.१.१६ हालसम्मकै संक्रामक मानिन्छ । जुन तीब्र गतिमा एक व्यक्तिबाट अर्कोमा सर्ने क्षमताको हुन्छ । कोरोनाभाइरसको हरेक नयाँ भेरियन्ट बढी संक्रामक हुने र भाइरस फैलिएको बेला त्यसले अरू सबै श्वास–प्रश्वासबाट फैलने जीवाणुलाई विस्थापित गर्दै जाने अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

‘अस्पतालमा आएका बिरामीलाई सोध्दा घरमा भएका अन्य व्यक्ति पनि उस्तै लक्षण लिएर बसिरहेको पाइएको छ । त्यसकारण पनि रुघाखोकी हुनेहरू कोरोना संक्रमित नै हुन् भन्ने अनुमान गर्न सकिन्छ’, डा. सुवेदीले भने । उनी अगाडि थप्छन्, ‘अहिले देखिएका पूर्व संकेतहरूले पुनः संक्रमणको लहरतिर उन्मुख भएको आँकलन गर्न सकिन्छ ।’

खोप लगाउन अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडबाट बच्न बाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मन्त्रालयले कोभिडबाट सुरक्षित रहन भनेको छ । आम नागरिकलाई स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरेको छ ।

साथसाथै, मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा अपिल गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ ।

काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण पछिल्लो दैनिक बढिरहेको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा पनि परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्