होटल संघले अर्थमन्त्रीसँग राख्यो ४ बुँदे माग, ब्याजदर घटाउन आग्रह

काठमाडौं, चैत २२ । होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. रामशरण महतसँग भेटी ज्ञापनपत्र बुझाएको छ।

मंगलबार भएको भेटमा अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराएकी थिइन्।

अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको बताइन्।

होटल संघले ४ बुँदे माग पेस गर्दै सम्बोधन गरिदिन समेत भनेको थियो–

१. राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमा

धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिनु हुन माग गर्दछौँ।

२. ब्याजदर सम्बन्धमा

व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनु हुन अनुरोध ।

३. समय सीमा सम्बन्धमा

होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि हार्दिक अनुरोध गरिन्छ ।

४. पुनर्तालिकीकरण र पुनर्कर्जा सम्बन्धमा

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध गरिन्छ ।उक्त भेटघाट कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्