बुद्धको सन्देश लिएर सगरमाथा आरोहणका लागि लुम्बिनीबाट निस्किए छोकी र शर्मिला

सगरमाथा ८८४८ फिट अग्लो हिमाल चुम्न संसारभरीका साहसिक पर्वतारोही चाहन्छन् । त्यो लक्ष्य पूरा गर्न भने थोरै मात्र सक्षम हुन्छन् । गौरीशंकर गाउँपालिका, ९ दोलखा स्थायी घर भएकी  २७ बर्षिया छोकी शेर्पा र रोशी गाउँपालिका, ११ काभ्रेपलाञ्चोकी २७ बर्षिया शर्मिला तामाङ्ग यतिखेर बुद्ध वाज वर्न इन् नेपाल भन्ने सन्देश विश्वभर फैलाउने र समाज परिवर्तनको निमित्त महिलाले पनि केही गर्न सक्छ, भन्ने उदाहरणिय कार्यका लागि यहि अप्रिल ९ मा सगरमाथा आरोहण तर्फ लाग्दै छन् । उनीहरु सगरमाथा आरोहण गर्ने दृढ आत्मविश्वासका साथ बुद्धको शान्ति सन्देश फैलाउन लुम्बिनीदेखि सगरमाथा कालापत्थर लुक्लातर्फ प्रस्थान गर्दैछन् । यी नै दुई महिला आरोही छोकी शेर्पा र शर्मिला तामाङ्गसंग सगरमाथा आरोहणका विषयमा केन्द्रीत रहेर जागरण न्युजकर्मी राजु पौडेलले गरेको कुराकानी कुराकानी :

सगरमाथा ८८४८ फिट अग्लो हिमाल चुम्न संसारभरीका साहसिक पर्वतारोही चाहन्छन् । त्यो लक्ष्य पूरा गर्न भने थोरै मात्र सक्षम भएका छन् । तपाईहरु कुन उदेश्यका साथ सगरमाथा आरोहण गर्दै हुनुहुन्छ, मुख्य लक्ष्य के हो ?

बुद्ध नेपाल जन्मिएका हुन् र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने, महिलाले पनि समाज परिवर्तनको लागि केहि गर्न सक्छ, भन्ने सन्देश दिने उदेश्यका साथ यहि अप्रिल ९ देखि हामी दुवै जना छेकु शेर्पा र शर्मिला तामाङ्ग सगरमाथा आरोहण गर्दैछौं । सयौं नेपाली महिला चेलिबेटीहरु वैदेशिक रोजगारीमा गएका छन् भने कोहि सपना बुनेर बसेका छन् । त्यहाँ उनीहरुले विभिन्न किसिमका दुःख पीडाहरु भोगीरहेका छन् । कतिपयले ज्यान पनि गुमाएका छन् । उनीहरु जस्ता नेपाली चेलिबेटीहरुलाई त्यस्ता दुःख पीडाको वातावरणबाट मुक्त गर्न आवश्यक छ । स्वदेशमा नै केहि गरौं भन्ने चेतना फैलाउनु जरुरी छ । महिला सशक्तिकरणको लागि बुलन्द आवज उठाउन आवश्यक छ । पर्यटन विकास र पुर्वाधार क्षेत्रमा महिलाई सहभागिता गराउनु आजको टड्कारो आवश्यकता हो । यसकै सुरुवात र जनचेतना फैलाउनको लागि हामीले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बोकेर सगरमाथा आरोण गर्न लागेका हौं ।

सगरमाथा आरोहण गर्नु अतिनै साहसिक र संवेदनशिल कुरो हो, धेरै आरोहिहरुले ज्यान पनि गुमाई सक्नु भएको छ, तपाईहरुलाई आरोहण पूरा गर्न सक्छु भन्ने आत्म विश्वास छ ?

मौसम र परिस्थितिले साथ दिएमा हामी सफल हुन सक्छौं । यस कुरामा हामी पूर्ण विश्वस्त छौं । यसको लागि सबै पक्षको सहयोग आवश्यक छ । जवरजस्ती जान लागेका होईनौ । हामीलाई पनि सगरमाथामा आरोहण गर्दा धेरैको ज्यान गएको करा पनि थाहा छ । मौसम र परिस्थितिले साथ नदिंदा धेरै आरोहीहरु पनि फर्कनु परेकोछ । हामीले जस्तो सुकै जोखिम मोलेर पनि यो मिसन पुरा गर्न सक्छौ । हामीले सगरमाथा आरोण गरिसकेपछि यो समाज र महिलाहरुको लागि एउटा राम्रो खालको म्यासेज दिन सक्छौ । यसले समाजमा गुम्सिएरबसेका धेरै महिलाहरुमा आत्मबल बढाउन मद्त गर्छ । यसबाट हामीले धेरै कुरा पनि सिकेका छौं । सगरमाथामा चढ्ने र झर्ने कृतीमानी राख्ने मात्र होइन । विश्वलाई सकारात्मक सन्देश दिनुपनि हो ।

सगरमाथा आरोहण गर्न कत्तिको खर्चिलो छ, यहाँहरुले के कसरी जुटाउनु भयो ? यसबाट कस्तो किसिमको पाठ सिक्नु भयो ?

सगरमाथा आरोण गर्न एक जनालाई कम्तिमा पनि २६ लाख जम्मा गर्नु पर्छ । सरकारलाई ३ हजार डलर रोयल्टी तिर्नु पर्छ । सबै कुराहरु महंगो छ । हामी एउटा सामान्य परिवारको मान्छे हौं । आर्थिक अवस्था त्यति सबल छैन । हामी समाजमा केहि गरौ भनेर मात्र यसमा लागेका हौ । आरोहणको शिलसिलामा सम्बन्धित निकायमा आफ्नो मान्छे नहुँदा र शक्ति केन्द्रले गरेको व्यवहार देख्दा धेरै पीडा महसुश गर्याै । हाम्रो समाजमा विभेदको जालो छ, यसलाई चिर्न चुनौती पनि छ ।

सगरमाथा आरोण गर्न के कस्तो मापदण्ड छन् ? तपाईहरुको भोगाई र अनुभव के छ ?

सबैभन्दा पहिला हामीले करिब ६ हजार उचाई चढ्नै पर्छ । हामीले चढी सकेका छौं । राम्दु हिमाल ५ हजार ९ सय २५ को हिमाल चढ्यौ । यसमा हामीले सफलता पुर्वक आरोहण गर्यौ । सरकालाई ३ हजार डलर रोयल्टी तिर्नु पर्छ । यो रकम पर्यटन विभागमा बुझाएका छौ । रोयल्टी मिनाहा गरि पाउँ भनेर निवेदन पनि दिएका छौं । तर त्यसको जवाफ आएको छैन । हामी आशावादी छौं । यस क्षेत्रमा मलाई केहि अनुभवका साथै काम गर्न इच्छा पनि छ । हामी राज्य देला र खाउँला भन्ने पक्षमा छनौं । तिन चार हजार मिटर मैलै सानै देखि फेस गरिसके छु । त्यस्तो गाह्रो केहि लाग्दैन । मौसमले साथ दियो भने सफल हुन्छ । दुःख भयो भनेर आत्तिदैनौं, निरन्तर साहसको साथ अघि बढ्छौैं ।

आरोहणको लागि अनुमति लिन कत्तिको सहज छ ?

आरोहण अनुमतीको लागि दुःख दिने, यो भएन त्यो भएन भन्ने कुरा अझै छ । हामीले आफैं भोगीरहेका छांैं । यसमा हामीलाई चाहि एकदमै विभेद गरेको जस्तै लाग्छ । किन भने पत्रकार महिलाहरुलाई अर्थमन्त्रलायबाट २५ लाख छुट्याउनु, तर हामी साधारण महिलालाई चाहिं नदिने यो कस्तो किसिमको विभेद हो ? हामी बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउन र बुद्धको शान्ति सन्देशको एजेण्डा लिएर सगरमाथा आरोण गर्न लागेका हौं । हामी कुनै निजी स्वार्थले जान लागेका होइनौं । हामी २ जनाका मात्र सगरमाथा आरोहण होइन । यसमा विभेद देखिएको छ । हामी आफ्ना डकुमेन्ट पर्यटन विभागदेखि अर्थमन्त्रालयसम्म पुर्याएका छौं । जसको फोर्स चल्छ उसैलाई मात्र सहयोग र रोयल्टी मिनाह गरिएको छ । हामीले पनि आफ्नो देशको लागि काम गरेका हौं । यसले नेपाललाई फाईदा हुन्छ, नेपालले नै इतिहास रच्छ ।

सगरमाथा आरोहणका लागि तपाईहरुले खर्चको व्यवस्थापन कसरी गर्नु भएको छ ?

हामी सामान्य परिवारका मानिस हौं । साथीभाईहरुबाट केहि सहयोग भएको छ । केहि संघसंस्था र सरकार समक्ष सहयोग र रोयल्टी मिनाह गर्नको लागि धाईयो तर धाउने काम मात्र भयो । कुनै त्यस्तो दाता भेटिएको छैन । पत्रकारको कुरा गर्दा खेरि पत्रकारको एउटा आफनै च्यालन हुन्छ, छुट्टै लिंक हुन्छ, सोर्सफोर्सले काम गर्छ । त्यसैले उहाहरुलाई त्यति गाह्रो छैन जति हामीलाई छ । सेलिब्रेटी र पहुँचवालालाई सबैले स्पोन्सर गर्छ । साधारण मानिसलाई बैंक तथा कम्पनीहरुमा जाँदा तिमीहरुको प्रोफाइल भनि सोध्ने गर्छ । यसले गर्दा हामीलाई सहयोग गर्ने खासै कोहि पनि छैन ।

तपाईहरुले अन्य मान्छे सगरमाथा आरोहण गर्दा खेरी राज्यले खर्च ब्यहोरेको, रोयल्टि मिनाह गरेको कुरा औल्याउनु भएन ?
हामीले मनमनै विरोध गरिराछौं। हामीसंग विवाद र झण्डालिएर नाराजुलुस गर्ने समय छैन । हामी हाम्रो मिसनमा छौं । देला र खाउँला भन्ने पक्षमा छैनौं । काम र कर्तव्यमा विस्वास गछौं ।

तपाईहरुलाई सगरमाथा आरोहण गर्नका लागि कुनै संस्थाले स्पोन्सर गर्नु भएको छ ? 

हामीलाई पायोनियर एडभान्चरले प्रा.लीले क्ला्ेथिङ्ग ब्राण्ड स्पोन्सर र टेक्नीकल सपोर्ट गरेको छ । चिनजान आफन्तहरु एक दुई जना हुनुहुन्छ लोगो लगेर राखि देउ भन्ने नत्र त्यस्तो ठूलै संस्था भने कोहि छैन ।

तपाईहरुमा सगरमाथा आरोहण गर्ने उत्साह र उत्प्रेरणा कहाँबाट आयो ?
एभेरेष्ट चढ्ने त हामी दुवैको सानै देखिको सपना हो । सगरमाथा आरोण गर्ने इच्छालाई पुरा गर्न हामीलाई चुनौती पनि छ । उसलाई चिर्नका लागि हामीले मिसन पूरा गरेरै छाड्ने आत्म विश्वास आयो । हामीलाई केही अनुभव पनि छ । हामी समाजको केहि गर्ने अडोटका साथ आएको छौं । कुनै व्यक्तिको उत्पे्ररणाले यो कार्यमा लागेका होइनौं । समाजलाई परिवर्तन गर्नका लागि लागेका हो ।

तपाईको आरोहणले महिला सशक्तिकरणमा के असर पर्छ ?

हामी पनि महिला हौं । सगरमाथा आरोहण गर्नु आफैंमा धेरै जोखिमपूर्ण कुरो हो । यसले महिला सशक्तिकरणमा धेरै असर पर्छ । यसको लागि निकै साहस चाहिन्छ । महिला भएर पनि केहि गर्न सक्दो रहेछ भन्ने सन्देश जान्छ । घर परिवार र गृहिणी कार्यमा मात्र सिमित हुनुहुन्न भन्ने मुल सन्देश जाँदा महिलालाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ ।

आरोहणको दौरानमा परिवारीक सपोर्ट कत्तिको पाउनु भएको छ ?

फिजिकल्ली दौडधुप त छदैछ । हाम्रो समुदायले महिलालाई हेर्ने दृष्टिकोण अलि दुःख लाग्दो छ । महिलाले पनि केहि नयाँ काम गर्नु पर्छ भन्ने कुरा सहमत छैन । सबै मान्छे एकै नासको हुँदैन । अलि कति जातीय र लैगिक विभेदले गर्दा पनि महिलालाई हेर्ने दृष्टिकोण फरक छ । मेरो संघर्ष भनेको नै मेरो परिचय को लागि हो ।

अन्तमा तपाईहरु के भन्न चाहनु हुन्छ ?

हाम्रो देशमा अझै सहज रुपमा काम गर्ने परिपाठीको विकास भएको छैन । सरकारले पनि विभेद गरेको पाईन्छ । बंैक तथा कम्पनीले पनि शक्ति र प्रोफाइल हेरेर स्पोन्सर गर्दा रहेछन् । सरकारले सबैलाई समान व्यवहार गर्नु पर्छ, सरकार भनेको सबैको अविभावक हो । भेदभाव गर्नु हुँदैन । अरुले आर्थिक र सामाजिक दुबै पीडा लिएर चारैतिर भौतारिनु नपरोस् भन्न चाहन्छु । अन्य महिला तथा आरोहीले यसरी दुःख भोग्न नपरोस भन्ने हाम्र्रो चाहना हो । राज्यले एउटा महिलाले सोसाइटीमा गएर देशलाई नै फाइदा हुन्छ भन्ने कुरा बुझ्न पर्दछ । अब यस्ता कुरामा राज्यको पनि ध्यान जाओस् भन्ने हो । तर, कुन पनि व्यक्तिले हिम्मत हार्नु हुँदैन । जोश, जागर र आत्मविश्वास हुनुपर्छ । यसले मात्र एक दिन सफलता हासिल गर्न सकिन्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्