तीन दिवसीय योङ स्कलर समिट-२०१८ काठमाडौंमा शुभारम्भ

काठमाडौं । चैत्र २४ । राष्ट्र प्रथमको नारासहित तीन दिवसीय योङ स्कलर समिट आजबाट काठमाडौंमा शुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा चैत्र २४ देखि २६ सम्म हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ-आफ्नो देशको महत्वपूर्ण स्थानमा काम गरिरहेका एक सय युवाहरुको सहभागिता छ ।

उनीहरुले विभिन्न क्षेत्रमा विचार र अनुभव राख्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया र नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले गर्नुभएको छ । कार्यक्रममा “नेपाल—भारत रिलेसन्सः इकोनोमिक डेभलभमेन्ट एण्ड कोअपरेशन” र “भारत—नेपाल रिलेशन्सः सामाजिक सांस्कृतिक एण्ड सिभिलाइजेशन लिंकेजेस” नामक दुई पुस्तक समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.अजयकुमारले नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने जिम्मेवारी दुवै देशको हरेक नागरिकको रहेको बताउनुभयो । युवा सम्मेलनमा विशेष अथितिका रुपमा बोल्नुहुँदै स्वस्थ छलफल र भूमिकाबाट सदीऔं देखिको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।

“भारत—नेपाल सम्बन्ध अझ प्रगाढ बनाउने जिम्मेवारी दुवै देशका नागरिकको पनि हो,”कार्यवाहक राजदूत कुमारले भन्नुभयो, “ पूर्खाले निरन्तरता दिएर बनाएको सम्बन्धलाई बुझेर हामी सबैले आफ्नो स्थानबाट दायित्व पूरा गरेमा सम्बन्धबाट दुवै देशका नागरिकले लाभ लिन सक्ने अवस्था बन्छ ।” दुई देशबीचको दौत्य सम्बन्धको ७० वर्ष लामो इतिहास भएपनि दुई देशबीचको जनताको सम्बन्धका इतिहास लामो रहेको उल्लेख गर्नुभयो । अब दुई देशको सम्बन्धलाई उचाईमा पु¥याएर समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिदै युवाहरुले त्यसका लागि सक्रियता देखाउनुपर्नेमा उहाँको जोड थियो । दुवै देशका युवाहरुलाई जोड्न आफूहरुले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवाहरुको काँधमा राष्ट्रनिर्माणको जिम्मेवारी आएकाले दक्षता र क्षमता मुलुकभित्र नै सदुपयोग गर्न आग्रह गर्नुभयो । नेपालको इतिहासमा कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति हुनुलाई ठूलो अवसर भन्दै त्यसलाई खेर जान दिन नहुने उहाँको भनाई थियो । योङ स्कलन समिटले देशमा युवाको भूमिका र युवाहरुको भूमिकाबारे सही सुझाव दिने आशा व्यक्त गर्नुभयो । युवा तथा खेलकुद मन्त्रालयले युवाहरुलाई सक्रिय बनाउँदै मुलुकको समृद्धिको यात्रामा अगाडि बढाउने कार्यक्रम ल्याएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध परिषद्का महासचिव श्याम पराण्डेले युवाहरुको काँधमा इतिहासकै महत्वपूर्ण जिम्मेवारीहरु आएको बताउनुभयो । नेपालको विकासमा युवाहरुले विशेष भूमिका खेल्ने आशा व्यक्त गर्दै नेपाल—भारत सम्बन्धलाई अझ मजबुत बनाउन युवाहरुले रचनात्मक सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । नेपाल र भारत दुई देश भएपनि एउटै सभ्यता रहेको भन्दै त्यसलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो सभ्यता गतिशिल छ, शिथिल छैन । त्यसैले यो सभ्यता अमर छ ।” समान सभ्यताका नेपाल र भारत दुवैका युवाले हातेमालो गरेर आ आफ्नो देशको समृद्धिको यात्रालाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपककुमार अधिकारीले युवाहरुले रचनात्मक भूमिका निभाएर मुलुकलाई परिवर्तनको बाटोमा लानुपर्ने बताउनुभयो । देश भन्दा ठूलो केही हुँदैन भन्ने युवाहरु पवित्र उद्देश्यले देशहितमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“अब देशले पनि युवाहरुलाई देशमै बसेर केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ ।”युथ स्कलर समिटले विचारहरुको आदानप्रदानका साथ निष्कर्ष निकालेर युवा क्षेत्रमा काम गर्ने संघ संस्था र नेपाल सरकारलाई उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानकी नलिनी ज्ञवाली र डा. प्रेमराज न्यौपानेले धन्वाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सात जना युवा प्रतिभालाई सम्मान गरिएको छ । सम्मान हुनेहरुमा पैंचो कार्यक्रमका राजन पौडेल, विशाल सिमेन्टका महाप्रबन्धक अमित श्रेष्ठ, संगितकार तथा लोकसंगितमा पीएचडी गर्ने प्रथम व्यक्ति डा.लोचन रिजाल, कलाकार शेरमान नेपाली, गायिका मीनादेवी निरौला, कलाकार रोमी घिमिरे र भ्याली कोल्डस्टोरका बाबुराजा रावल छन् । सम्मानित प्रतिभाहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया र नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजय कुमारले ताम्रपत्र र खादासहित सम्मान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्