सिन्डिकेटविरुद्ध सरकारको अर्को कदम : देशभरका सडकमा रुट परमिट खुला

काठमाडौं । सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।

सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट कायमै छ । तर, पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएको छ ।

मयुर यातायातले काठमाडौं(बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।

यसबाट हौसिएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए ।

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उनले बताए । निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी छ ।

अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ ।

प्रतिक्रिया दिनुहोस्